दफा ५०
लिलाम बिक्री गर्न सक्ने
(१) यस ऐन बमोजिम जफत भएका मालवस्तु नेपाल सरकारले आफैले प्रयोग गरेकोमा बाहेक सम्बन्धित भन्सार अधिकृतले तोकिए बमोजिम लिलाम बिक्री गर्न सक्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि जफत भई भन्सार कार्यालयबाट छुटाई नलगी नेपाल सरकारको हुन आएको सुन, चाँदी, जवाहरात वा प्रचलित कानून बमोजिम इजाजत लिई मात्र बिक्री गर्न पाइने 'मालवस्तु वा अमूल्य खनिज पदार्थहरुको लिलाम बिक्री वा अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

(३) यस ऐन बमोजिम कब्जा भएका मालवस्तु सङ्ने, गल्ने वा पुरानो भई मूल्य घट्न जाने वा गोदाम वा स्थानको अभावले राख बाधा पर्न लागेमा वा जीवजन्तु रहेछ भने भन्सार अधिकृतले त्यस्तो मालवस्तु तोकिए बमोजिम तुरुन्त लिलाम गर्न सक्नेछ ।

(४) उपदफा (३) बमोजिमको लिलाम बिक्रीबाट प्राप्त रकम भन्सार कार्यालयले धरौटी खातामा आम्दानी बाँध्नु पर्नेछ ।

(५) उपदफा (१), (२) वा (३) बमोजिम लिलाम बिक्री भएको मालवस्तु पछि मालधनीलाई फिर्ता दिनुपर्ने ठहरेमा त्यस्तो लिलाम बिक्रीबाट प्राप्त हुन आएको रकम मात्र निजलाई फिर्ता दिइनेछ । तर त्यस्तो रकममा कुनै कर, शुल्क वा अन्य दस्तुर वा रकम लाग्ने रहेछ भने त्यस्तो कर, शुल्क, दस्तुर र रकम कटाएर बाँकी रहेको रकम मात्र निजले पाउनेछ ।

(६) भन्सार कार्यालयमा दाखिला हुन आएको चोरी पैठारी वा चोरी निकासी गरेको मालवस्तु ढुवानी गर्न प्रयोग भएको सवारी साधन स्थानाभाव वा संरक्षण गर्न नसकिने कारणले सो कार्यालयमा राखिराख उपयुक्त नदेखिएमा सम्बन्धित भन्सार अधिकृतले तोकिएको समितिबाट त्यस्तो साधनको मूल्य कायम गराई सो मूल्यमा तोकिए बमोजिम लिलाम बिक्री गर्न गराउन सक्नेछ ।

(७) उपदफा (६) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो सवारी साधनको धनीले उपदफा (६) बमोजिम कायम भएको मूल्य तथा सो मूल्यमा प्रचलित कानून बमोजिम लाग्ने कर, शुल्क समेत थप गरी हुन आउने रकम नगद रुपैयाँ धरौटी राखी सो सवारी साधन छुटाई लान निवेदन दिन सक्नेछ ।

(८) उपदफा (७) बमोजिम निवेदन परेकोमा भन्सार अधिकृतले त्यस्तो धरौटी रकम लिई सो सवारी साधन निजलाई नै फिर्ता दिन सक्नेछ र त्यसउपर कारबाही र किनारा हुँदा सो सबारी साधन जफत हुने ठहरेमा भन्सार कार्यालयले सवारी साधनको धनीले त्यसरी राखेको धरौटी रकम सदरस्याहा गरी सो सवारी साधन सवारी साधनको धनीलाई नै दिन: सक्नेछ । त्यस्तो सवारी साधन जफत नहुने भई सवारी साधनको धनीले फिर्ता पाउने निर्णय भएमा निजले राखेको धरौटी रकम तोकिए बमोजिम फिर्ता दिइनेछ ।

(९) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिम लिलाम बिक्री हुन नसकेको वा कुनै किसिमले प्रयोगमा ल्याउन नसकिने मालवस्तु भन्सार अधिकृतले तोकिए बमोजिम सडाउन, गलाउन वा नष्ट गर्न सक्नेछ ।